Monday, May 24, 2010

पानीको माग गर्दै खोटाङमा भ्यागुताको बिबाह

दमन राई/खोटाङ
जेठ ४, लामो समयसम्म पानी नपरेपछि खोटाङको चिसापानी र खोटाङ बजारका किसानहरुले भ्यागुताको बिहे गरिदिएका छन् । ९ महिना अघिदेखि पानी नपरेपछि चिसापानी र खोटाङ बजारका किसानहरुले स्थानीय सावा खोलाको भानुमतीमा गएर भ्यागुताको बिहे गरिदिएका हुन् । दुई हजार बढि किसानहरुले बाजा-गाजासहित खोलामा गएर धुमधामकासाथ भ्यागुताको बिबाह गरिदिएका हुन् । किसानहरुले भ्यागुताको बिबाहसंगै पिपल र आँपको पातको एक हजार आठ वटा खोची दुना गाँसेर पानीको माग गर्दै खोलामा बगाएका चिसापानीका स्थानीय शिक्षक कपिलमणी घिमिरेले जानकारी दिनु भयो । ६० वर्ष यताकै लामो मानिएको खडेरीले जिल्लाको दक्षिणी क्षेत्रका चिसापानी खोटाङ बजार दिप्लुङ बड्कादियाले सुन्तले फक्टाङ मौवाबोटे पौवासेरा बराहपोखरी साउनेचौरलगायत दर्जनौं गाबिसका किसानहरुले अन्न-वाली लगाउन पाएका छैनन् । पानीको अभावमा चैते धानको बीउ ब्याडमै फुलेको छ भने समयमा मकै पनि छर्न सकेका छैनन् । बाजा-गाजकासाथ माईकिङ गर्दै खोलामा पुगेका किसानहरुले ईन्द्रको प्रार्थना गरेका छन् । उनीहरुले एक आपसमा पानीले छ्यापाछ्याप गर्दै ॐ लेखेको पिपल र आँपको पात पनि खोलामा बगाएका शिक्षक घिमिरेले बताउनु भयो । यस्तै बर्षेवाली लगाउने समय बितिसक्दा पनि पानी नपरेपछि रतन्छाका किसानले नाग पूजा गरेका छन् । रतन्छा-४ का किसानले बेरिया खोलाको फराके दहमा जाँड-रक्सी चढाएर नाग पूजा गरेका हुन् ।

No comments:

Post a Comment