Thursday, May 6, 2010

किरात जनवादी वर्कस पार्टीद्धारा प्रहरीचौकी आक्रमणको जिम्मा

दमन राई/खोटाङ
बैसाख-२२, अज्ञात हतियारधारी समुहले खोटाङको नुनथलास्थित प्रहरी चौकीबाट छ थान हतियार र पाँच सय १६ राउण्ड गोली लुटेका छन् । १५/२० जनाको समुहमा हतियारसहित आएका नकावधारी समुहले प्रहरीचौकी नियन्त्रणमा लिई चौकीमा भएका पाँच थान थ्री नट थ्री राईफल र एक थान चाईनीज पेस्तोल लुटेर लगेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी नायव उपरिक्षक टेकबहादुर तामाङले बताउनु भयो । उनीहरुले चौकीमा भएको राईफलको पाँच सय राउण्ड गोली र पेस्तोलको १६ राउण्ड गोली समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरुले प्रहरीलाई नियन्त्रणमा लिएर सामान्य कुटपिट समेत गरेका थिए । घटनापछि खोजी कार्यमा परिचालन गरिएका प्रहरीले आज लुटिएको एक थान साचार सेट फेला पारेका छन् ।
यसैबीच सशस्त्र भुमीगत किरात जनवादी वर्कस पार्टीले प्रहरीचौकीमा भएको घटनाको जिम्मा लिएको छ । वर्कसका केन्द्रीय सह-सचिव हाङछा किरातीले टेलिफोनबाट प्रहरीचौकीमा भएको घटनाको जिम्मा लिनु भएको हो । सह सचिव किरातीले घटनामा आफ्नो कार्यकर्ताको संलग्नता रहेको स्वीकार गर्नुभए पनि कुनै हतियार भने नलगेको दावी गर्नु भयो । हतियार लुटेको भन्ने प्रहरीको खण्डन गर्नुहुदै उहाँले प्रहरीलाई चौकी छाडेर सदरमुकाम जानमात्र आग्रह गरेको जिकिर गर्नु भयो । सदरमुकाम दिक्तेलबाट तीन घण्टा टाढा रहेको चौकीमा प्रहरी सहायक निरिक्ष राजकुमार खड्काको नेतृत्वमा आठ जना प्रहरी थिए । घटनापछि प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । अहिले उनीहरुको खोजी भईरहेका प्रहरी नायक उपरिक्षक तामाङले बताउनु भयो ।
यसअघि किरात जनवादी वर्कस पार्टीले २०६४ माघ ७ गते बेलुकी जिल्लाको तीन प्रहरी चौकीमा एकैसाथ आक्रमण गरी हतियार लुटेको थियो ।

No comments:

Post a Comment