Thursday, May 6, 2010

किरात जनवादी वर्कस पार्टीद्धारा प्रहरीचौकी आक्रमणको जिम्मा

दमन राई/खोटाङ
बैसाख-२२, अज्ञात हतियारधारी समुहले खोटाङको नुनथलास्थित प्रहरी चौकीबाट छ थान हतियार र पाँच सय १६ राउण्ड गोली लुटेका छन् । १५/२० जनाको समुहमा हतियारसहित आएका नकावधारी समुहले प्रहरीचौकी नियन्त्रणमा लिई चौकीमा भएका पाँच थान थ्री नट थ्री राईफल र एक थान चाईनीज पेस्तोल लुटेर लगेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी नायव उपरिक्षक टेकबहादुर तामाङले बताउनु भयो । उनीहरुले चौकीमा भएको राईफलको पाँच सय राउण्ड गोली र पेस्तोलको १६ राउण्ड गोली समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरुले प्रहरीलाई नियन्त्रणमा लिएर सामान्य कुटपिट समेत गरेका थिए । घटनापछि खोजी कार्यमा परिचालन गरिएका प्रहरीले आज लुटिएको एक थान साचार सेट फेला पारेका छन् ।
यसैबीच सशस्त्र भुमीगत किरात जनवादी वर्कस पार्टीले प्रहरीचौकीमा भएको घटनाको जिम्मा लिएको छ । वर्कसका केन्द्रीय सह-सचिव हाङछा किरातीले टेलिफोनबाट प्रहरीचौकीमा भएको घटनाको जिम्मा लिनु भएको हो । सह सचिव किरातीले घटनामा आफ्नो कार्यकर्ताको संलग्नता रहेको स्वीकार गर्नुभए पनि कुनै हतियार भने नलगेको दावी गर्नु भयो । हतियार लुटेको भन्ने प्रहरीको खण्डन गर्नुहुदै उहाँले प्रहरीलाई चौकी छाडेर सदरमुकाम जानमात्र आग्रह गरेको जिकिर गर्नु भयो । सदरमुकाम दिक्तेलबाट तीन घण्टा टाढा रहेको चौकीमा प्रहरी सहायक निरिक्ष राजकुमार खड्काको नेतृत्वमा आठ जना प्रहरी थिए । घटनापछि प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । अहिले उनीहरुको खोजी भईरहेका प्रहरी नायक उपरिक्षक तामाङले बताउनु भयो ।
यसअघि किरात जनवादी वर्कस पार्टीले २०६४ माघ ७ गते बेलुकी जिल्लाको तीन प्रहरी चौकीमा एकैसाथ आक्रमण गरी हतियार लुटेको थियो ।

Wednesday, April 21, 2010

शब्दशिखाको फेसबूक विशेष चैत अङ्क प्रकाशित

प्रभास साहित्यिक समूहको मासिक प्रकाशन 'शब्दशिखा'को चैत अङ्क प्रकाशित भएको छ । यस अङ्कमा पाठकहरुले स्व.स्वप्निल स्मृति, दीपा एवाई राई, मनु लोहोरुङ र विष्णु नेम्वाङ सुब्बाको कविता, राजन मुकारुङ र नदीशको गीत, सरिता राई, कृष्णपक्ष र श्रवण खनालको गजल, यल्जी विवशको हाइकू, साहित्यिक समाचार, पुस्तक परिचयको अलवा पदम राईद्वारा अनुदित रुसी लोककथा, विशदबाट कविताकृति, 'धारिला मानिसहरु'को चर्चा र सुमन तण्डुकारद्वारा अनुदित नाकिमाको नेपाल भाषाको कविता पढ्न पाउनुहुनेछ । फेसबूक विशेष यस नवौँ अङ्कका अधिकांश सामगि्रहरु फेसबूकबाट साभार गरिएका हुन् ।

Sunday, April 18, 2010

१७ औँ पारिजात दिवस मनाइयो

नाकिमा/काठमाडौं
५ बैशाख । काठमाडौंको म्हेपीस्थित पारिजात निवासमा स्मृतिसभा गरेर १७ औँ पारिजात दिवस मनाइएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा सम्पन्न सो कार्यक्रममा लक्ष्मी मालीले पारिजातको 'मृत्यु' शीर्षकको कविता वाचन गर्नुभएको थियो भने पद्मरत्न तुलाधर, घनश्याम ढकाल, निनु चपागाई र डा.महेश मास्केले नेपाली साहित्यको मूर्धन्य प्रतिभा पारिजातको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । स्मृतिसभा समापनपछि निर्माणाधिन पारिजातभवनमा राखिएको पारिजातको शालिकमा सुकन्या वाइबा लगायत उपस्थितहरुले माल्यार्पण गरेका थिए ।

भाउजुको ज्यान मारेको आरोपमा एक जना पक्राउ

दमन राई/खोटाङ
बैसाख-५ आफ्नै भाउजुको ज्यान मारेको आरोपमा कुभिन्डेका ताराकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ४५ बर्षीय भाउजु चन्द्रमायाँ तामाङको हत्य गरेको आरोपमा प्रहरीले कुभिन्डे-१ का आरोपित तामाङलाई हिजो पक्राउ गरेको हो । रक्सी पोखिएको निहुमा ताराकुमारले गत ३ गते बेलुका भाउजु चन्द्रमायाँको हत्य गरेका थिए । अभियुक्तलाई नियान्त्रणमा लिइ घटनाकाबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसहित कविता वाचन

४ बैशाख । नव वर्ष २०६७ सालको शुभकामना आदानप्रदान कार्यक्रमसहित खोटाङ महासमाजले कवि गोष्ठी सम्पन्न गरेको छ । सो कार्यक्रममा विश्व दर्शन, चन्द्र चाम्लिङ, मंजु मार्मिका र नाकिमा लगायतका थुप्रै कविहरुले कविता वाचन गरे भने सभासदहरु अस्मिता कार्की, हिरा गुरुङ साहित्यकारहरु डा.विष्णु राई, धनप्रसाद सुवेदी 'श्रमिक' लगायतका विभिन्न खोटाङ्गे महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासमाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको साचालन सो संस्थाका महासचिव मनिप्रसाद राईले गरेका थिए ।

शुभकामना आदान प्रदान गर्दै रुपाकोट सामुदायीक रेडियोद्धारा तेश्रो बार्षिकोत्सव मनाउदै

दमन राई/खोटाङ
बैसाख-१ ख्ााेटाङको रुपाकोट सामुदायीक रेडियोले एक आपसमा शुभकामना आदान प्रदान गर्दै आफ्नो तेश्रो बार्षिकोत्सवको मनाइरहेको छ । बार्षिकोत्सवको अवशरमा रेडियोले दिक्तेलको समिक्षालयमा आज शुभकामना आदान प्रदान कार्याक्रम गरेको छ । कार्यक्रममा शुभकामना शन्देशमार्फत
बक्ताहरुले सुचना तथा साचारका क्षेत्रमा रेडियोले पुर् याएको योगदानको चर्चा गर्दै आगामी दिनमा रेडियोले चाल्नु पर्ने कदमकावारेमा बोल्नु भएको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवालीका जिल्ला सेक्रेटरी बिक्रम नेपाली कांग्रेसका महेन्द्र कटुवाल नेकपा एमालेका रामप्रसाद दंगाल नेकपा एकीकृतका राम बजगाईलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा रुपाकोट रेडियोले पूर्णकालिन तथा स्वयं सेवक रेडियोकर्मीहरुलाई मायाँको चिनो प्रदान गरेको छ । यस्तै हिजो भएको लोक गीत सम्मेलनमा पहिलो स्थान प्राप्त गर्नुहुने बाम्राङकी प्रमिला राई र सर्मिला राई दोश्रो हुनु हुने राजापानीका लालकुमारी राई र तेश्रो हुनु हुने सप्तेश्वर छितापोखरीकी कुमारी थापालाई क्रमशः तीन हजार दुई हजार र एक हजार नगदकासाथमा प्रमाणपत्र प्रदान गरिएको छ । उहाँहरुलाई रेडियो साचालक समितिका उपाध्यक्ष हरि राजभण्डारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । जिल्ला बिकास समितिको समिक्षालयमा भएको शुभकामना आदान प्रदान कार्यक्रम सकिएपछि सदरमुकाम दिक्तेलका सर्वसाधारणको शुभकामनालाई सन्देशलाई रेडियोले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

तीन वर्षअघि स्थापना भएको रुपाकोट रेडियोले बिभिन्न समाचार तथा मनोराजनात्मक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको छ । दक्षिण एसियमै सबैभन्दा बढि शेयर सदस्य भएको रेडियो समुदायको आफ्नै लगानीमा स्थापना भएको हो ।

Tuesday, April 13, 2010

नयाँ वर्षको नयाँ बिहानीमा प्रचण्ड निवासमा कविहरु

१ बैशाख । संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि दवाव स्वरुप पारिजात स्मृति केन्द्रले काठमाडौं नयाँबजारस्थित एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड निवासमा स्वयम् प्रचण्डकै उपस्थितिमा कविता वाचन सम्पन्न गरेको छ । बिहान ७ बजेदेखि एक घण्टा चलेको उक्त कविता वाचनमा श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्शी, लक्ष्मी माली, बिमला तुम्खेवा लगायतका १५ जना कविहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम र कविताहरुको प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने संविधान निर्माणको निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेको कुरा बताउनु भयो । साथै उहाँले नयाँ वर्षलाई साँच्चै नयाँ बनाइदिएकोमा पारिजात स्मृति केन्द्रलाई धन्यवाद दिनुभयो । स्मृति केन्द्रले भोलि बिहान एमाले अध्यक्ष झलनाथ खनालको निवासमा कविता सुनाउने कार्यक्रम तय गरेको छ ।