Wednesday, March 31, 2010

खोटाङको लेकाली क्षेत्रमा मकै छर्न सकिएन

दमन राई/खोटाङ

चैत्र-१६, समयमै पानी नपरेपछि खोटाङको लेकाली क्षेत्रका सयौं हेक्टर क्षेत्रफल जमिनमा मकै छर्न सकिएको छैन । पानी नपरेपछि लेकाली क्षेत्रका २५ प्रतिशत खेती योग्य जमिनमा मकै छर्न नसकिएको जिल्ला कृषि बिकास कार्यालय खोटाङले जनाएको छ । जिल्लाको मात्तिम खिदिमा छितापोखरी चिसापानी ईन्द्रेणीपोखरीलगायतका लेकाली गाबिसमा मकै छर्न ढिलाई भएको जिल्ला कृषि बिकास कार्यलय खोटाङका प्राबिधिक सहायक शम्भुप्रसाद शाहले बताउनु भयो । फागुनमा छरी सक्नुपर्ने मकै चैत्रमा पनि छर्न नपाउदा यी क्षेत्रका किसान चिन्तित भएका छन् । यस्तै लामो समयसम्मको खडेरीले जिल्लाको दक्षिण-पुर्वी क्षेत्रका दर्जनौं गाबिसका किसानहरुले मकै छर्न पाएका छैनन् । जिल्लाको टेम्मा याम्खा बतासे देबिस्थान मौवाबोटे फाक्टाङ चिसापानी सावाकटहरे बड्कादियाले खोटाङबजार लिच्कीराम्चे गाविसका किसानहरुले मकै छर्न नपाएका लिच्कीराम्चेका स्थानीयवासी रमेश राईले बताउनुभयो । पानी नपरेपछि त्यस क्षेत्रको खेतबारीमा लगाइएको गहु आलु र तोरी मर्न थालेका छन् । यस्तै पानीको अभावमा चैते धान रोप्न नसकिएको र रोपेको धानको बिरुवा मर्न थालेको बड्कादियालेका रबि गेलालले बताउनु भयो ।

No comments:

Post a Comment